१५ चैत, काठमाडौं । वसन्तपुरस्थित गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला गरिंदै छ । अपराह्न ४ बजे एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उदघाटन गर्ने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।
२०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोषले ७ लाख डलर सहयोगमा पुनर्निर्माण गरेका थिए ।
योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र हेर्न सकिने खनालले जानकारी दिए । गद्दी बैठक अवलोकनको लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नु नपर्ने दरबार हेरचाह अड्डाले जनाएको छ ।
गद्दी बैठकको निर्माण सम्पन्न गरेर २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । सोही दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गद्दी बैठक उद्घाटन गरेका थिए । पुनर्निर्माण सकेपनि भित्रको व्यवस्थापन मिलाउन बाँकी रहेकाले सर्वसाधारणलाई प्रवेश खुला गर्न केही ढिलाइ भएको खनालले जानकारी दिए ।