Breaking News

एमाले मा प्रवेश गर्नेहरुले पछुताउनु नपर्ने

८ चैत, काठमाडौं । काठमाण्डौंको थापाथलीस्थित कार्की ब्याङकेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धरलाई पार्टी प्रवेश गराउँदै बोल्ने क्रममा एमाले मा प्रवेश गर्नेहरुले पछुताउनुनपर्ने बताएका छन् ।

‘देशको सीमा, सार्वभौमसत्ताको सुरक्षा हुन्छ भने स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र सुरक्षित हुन्छ भने व्यक्तिगत हितहरु असुरक्षित हुन्छन् भन्ने हुँदैन । र कसैले पनि एमालेमा किन प्रवेश गरेँ भन्नुपर्दैन’ ओलीले भने ।

ओलीले आउँदो चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरे । ‘आगामी चुनावमा हामी बहुमत ल्याउँछौं र बहुमत ल्याउनुपर्छ यस देशका लागि । हामीले बहुमत ल्याउनुपर्छ साथीहरु बहुमत ल्याउनेगरी लाग्नुस भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रेमबहादुर सिंहसँग २०३० सालको सुरुवातमा भारतको दरभंगामा भेट भएको
बताए । त्यसबेला आफू भूमिगत रुपमा काम गर्दै हिँडेको उनले सुनाए ।

प्रेमबहादुर सिंह नेकपा एमालेका लागि अपरिचित र नयाँ नरहेको भन्दै उनले लामो समय एमालेमै रहेर काम गरेका प्रभावशाली नेता रहेको बताए । उनले प्रेमबहादुर सिंहको स्वास्थ्य अवस्थाको प्रशंसा गर्दै ‘उमेरको तुलनामा भर्खरकै’ देखिएको बताए । ओलीले भने, ‘कर्णालीको हावापानी, यार्सागुम्बा खाएको मान्छे यस्तै हुन्छ ।’