Breaking News

सडकमा पछारिएको नेपाली कांग्रेसलाई आफूहरुले सत्तामा पुर्‍याएको तर कांग्रेस नेताहरुमा उन्माद देखियो फेरि सत्ताबाट सडकमा पुर्‍याउन नपरोस्

४ चैत, बुटवल । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त) ले माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पाँच वर्षका लागि सडकमा पछारिएको नेपाली कांग्रेसलाई आफूहरुले बुई चढाएर सत्तामा पुर्‍याएको टिप्पणी गरेका छन् । तर कांग्रेस नेताहरुमा उन्माद देखिएको भन्दै उनले फेरि सत्ताबाट सडकमा पुर्‍याउन सक्ने बताएका छन् ।

नेता पुनले माओवादी केन्द्र र सत्ता गठबन्धन आवद्ध अरु दललाई सार्वजनिक टिप्पणीमार्फत नहेप्न चेतावनी दिए ।

‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन्,’ पुनले भने, ‘हामी सरकार बनाउन सक्छौं, भत्काउन सक्छौं । सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ताकत हामीसँग छ । कांग्रेस नेताहरुले बुझ्न जरुरी छ ।’

उनले चुनावी गठबन्धनविरुद्ध रहेका कांग्रेस नेतालाई ०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाव दिए ।

केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट पाठ सिक्न र आफ्नो वास्तविक शक्ति सम्झिएर के बोल्ने÷के नबोल्नेबारे विचार गर्न आग्रह गरे ।

‘सत्ता उन्मादले केपी केपी ओली प्रतिगमनको नाइके हुनुभयो । पटकपटक संसद विघटन गर्नुभयो’, उनले भने, ‘आफ्नो कर्मका कारण दुई तिहाइ विशाल जनमतसहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुग्नुभएको छ, ६ महिनादेखि बिना एजेण्डा संसदमा नारा लगाइरहनुभएको छ ।’

सम्बोधनका क्रममा नेता पुनले माओवादी केन्द्र कसैसँग तालमेल नगरी निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी समेच गरे । स्थानीय तह र संघीयताका लागि माओवादी लडेको चर्चा गर्दै पुनले त्यसको नेतृत्व गर्न पनि माओवादी सक्षम साबित भएको बताए ।

नेता वर्षमान पुन (अनन्त)