Breaking News

‘अनौठो लाग्छ, अस्ति शहीद बन्नका लागि झगडा गर्ने तिनै साथीहरू अहिले पद र पैसा नपाउँदा अर्कै हुन्छौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक प्रशिक्षणका लागि देश दौडाहामा छन् । एमसीसीका कारण दुई ध्रुवमा बाँडिएको पार्टी पङ्क्तिलाई एक ढिक्का बनाएर चुनावमा केन्द्रित गर्ने प्रयासमा प्रचण्ड रहेका छन् ।

पार्टीको निर्णयानुसार प्रदेश १, बागमती, कर्णालीदेखि सुदूरपश्चिम प्रदेशमा विशेष प्रशिक्षण दिइसकेका प्रचण्डले आज काठमाडौँमा गैरभौगोलिक ३ प्रदेशको संयुक्त प्रशिक्षण कार्यक्रममा पार्टीका नेता कार्यकर्तामा देखिएको विचलन, चुनावी रणनीतिदेखि विविध विषयमा आफ्नो धारणा राखे । प्रशिक्षणमा बोल्दै प्रचण्डले हिजो युद्धको समयमा मर्नका लागि तँछाडमछाड गर्दै झगडा गर्ने नेताहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्थामा पुगेको भन्दै असन्तुष्टि पोखे ।

‘पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दो छ । अराजकता, गुटबन्दी बढ्दो छ । पदलोलुपता बढ्दो छ’, आक्रोशित भावमा प्रचण्डले भने, ‘यही पार्टी हो, हिजो युद्धको समयमा मर्न जान पाइएन भनेर झगडा गर्नेको जमात हुन्थ्यो । अहिले पद पाइएन भनेर रुने कराउने र भाग्नेको जमात भयो ।’

नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिप्रति पनि प्रचण्डले आक्रोश पोखेका थिए । ‘अनौठो लाग्छ, अस्ति शहीद बन्नका लागि झगडा गर्ने तिनै साथीहरू अहिले पद र पैसा नपाउँदा अर्कै हुन्छौँ,’ प्रचण्डको भनाइ थियो ।

क्रान्तिकारी पार्टी निर्माण र रूपान्तरणको प्रक्रिया सुरु भयो भनिए पनि वास्तवमा त्यस्तो हुन नसकेको प्रचण्डको भनाइ थियो । क्रान्ति र रूपान्तरणको कुरा फगत उपदेशजस्तो भएको उनको जिकिर थियो । ‘क्रान्ति र रूपान्तरणका निम्ति कुनै उल्लेख्य सुधार नभएर औपचारिकताका लागि थेगे जस्तो भएको छ’, प्रचण्डको भनाइ थियो ।

अध्यक्ष ‘प्रचण्ड’