Breaking News

अब साना दलहरुले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने

२ चैत, काठमाडौं । निर्वाचन आयोगको आज बसेको बैठकले साना दलहरुले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने भएका छन् । राष्ट्रिय दलको मान्यता नपाएका दलहरुलाई सशर्त दलीय चुनाव चिह्न दिने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचन ऐनको दफा २६ मा राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र दलीय चुनाव चिह्न दिने व्यवस्था छ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ मा प्रतिनिधिसभामा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दललाई मात्र राष्ट्रिय दलको मान्यता दिने व्यवस्था छ ।

यसअनुसार ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले मात्र दलीय चुनाव चिह्न पाउने अवस्था छ । अरु ७३ दलका उम्मेदवारले स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न लिनुपर्ने हुन्छ ।

तर साना दलहरुले आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गरेपछि आयोगले केही शर्त अघि सारेको छ ।

आयोगको निर्णय अनुसार अब राष्ट्रिय मान्यता नपाएका दलहरुले कुन–कुन जिल्लामा जिल्ला स्तरको संगठनात्मक संरचना छ भन्ने विवरण केन्द्रीय पदाधिकारीबाट प्रमाणित गरी ६ चैतभित्र आयोगलाई बुझाउनुपर्छ ।

जिल्ला निर्वाचन कार्यालयले चेकजाँच गर्दा विवरण मिलेमा विवरण बुझाउने दलहरुको चुनाव चिह्न राखेर मतपत्र छापिने छ र उम्मेदवारी दर्तापछि सम्बन्धित दलकै चुनाव चिह्न दिइने छ ।