१ चैत, काठमाडौं । यू-१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण आजबाट भारतको जम्सेदपुरमा सुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र आयोजक भारतबीच प्रतिस्पर्धा हुनेछ ।
यस पटकको संस्करणमा नेपाल, भारत र बंगलादेश गरी तीन वटा राष्ट्रले भाग लिएका छन् । चैत १० गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा आयोजना हुनेछ । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
प्रिती राईको कप्तानीमा रहेको नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । तर यसअघिका संस्करणको अनुभव भएका सीमित खेलाडी मात्र टिममा रहेकाले बलिया प्रतिद्वन्द्वीको सामना गर्नु नेपालका लागि चुनौतिपूर्ण नै हुनेछ ।