हुम्लामा ठुलो संख्यामा जसपा नेपालका नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश

हुम्लामा ठुलो संख्यामा जसपा नेपालका नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा जसपा नेपालका एक हजारभन्दा बढी नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा सामेल भएको जनाइएको छ ।

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष विमला केसीका अनुसार जसपा नेपालका विरजङ्ग शाहीसहित ४ जना केन्द्रीय सदस्य, १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटी सदस्य र जिल्लाभित्रका सबै स्थानीय तह अन्तर्गतका समिति सदस्यसहित एक हजार एक सय नेता, कार्यकर्ता माओवादी केन्द्रमा सामेल भएका हुन् ।

नवप्रवेशी टोलीलाई कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीमा स्वागत गरेका थिए । ‘कार्चेन लामालाई प्रदेश मन्त्री बनाएपछि हुम्लामा माओवादीको जनाधार बलियो हुँदै गएको छ,’ नेकपा माओवादी केन्द्रका एक जना स्थानीय नेताले भने ।