एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएपछिको कामहरुको सम्बन्धमा जनतालाई जानकारी दिनुपर्ने भीम रावलको माग

२९ फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानन्ययाधीश चोलेन्द्र शमशेर जबरा माथिको महाअभियोग प्रस्ताव पेश भएएको छ । तर आजको बैठकमा प्रमुख प्रतिपक्षदल नेकपा एमालेका सांसदहरुले नाराबजी गरिरहँदा एमाले कै सांसद भीम रावलले भने सभामुखसँग समय मागेर बोल्न थाले ।

डा. रावलले भने, अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएपछिको कामहरुको सम्बन्धमा जनतालाई जानकारी दिनुपर्ने माग गरे ।

सांसद रावलले नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्ने आवाजहरु उठिरहेको भन्दै त्यस प्रकारको आवाजलाई बन्द गर्न पनि माग गरे ।

उनले दार्चुला जिल्लाको बंगाबगरमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहदा पनि सरकार नबोल्नु लाजमर्दो विषय भएको टिप्पणी गर्दै सो सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने माग गरे ।

‘भारत सरकारले एकतर्फी डोजर चलाउँदा पनि नेपाल सरकार त्यसमा नबोल्नु यो लाजमर्दो कुरा हो । नेपाल सरकारको यसतर्फ गम्भीर रुपले ध्यानाकर्षण गराउँछु । र म माग गर्न चाहन्छु, नेपाल सरकारको तर्फबाट गृहमन्त्रीजी, परराष्ट्रमन्त्रीजीले यो सदनमा आएर नेपाली जनतालाई यसको जवाफ दिनुपर्छ’ भनेका थिए ।