जसपा को संघीय परिषद्को बैठक सुरु : डा.बाबुराम भट्टराईको २३ पृष्ठको राजनीति प्रतिवेदनमा १४ वटा शीर्षक

जनता समाजवादी पार्टी भित्रको अन्तर संघर्षले झन्डै फुटको स्थितिमा पुगेको सो पार्टीको संघीय परिषद्को बैठक सुरु भएको छ । परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष भट्टराइले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । २३ पृष्ठको राजनीति प्रतिवेदनमा १४ वटा शीर्षक रहेका छन् ।

प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले यो दस्तावेज पूर्ण नभएको र पूर्ण दस्तावेज महाधिवेशनमा आउने बताए । ‘महाधिवेशनको तयारी स्वरुप यो दस्तावेज ल्याइएको हो, यसैको आधारमा पार्टी सैद्धान्तिक, वैचारिक रुपमा अगाडि बढ्छ ।’
प्रतिवेदनमा जसपा र अरु पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतका कुरा समेटिएको उनले बताए । दस्तावेजमाथि सामूहिक छलफल हुने जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले बताए । परिषद्को बैठक आज एक दिन मात्र चल्ने छ । भोलिदेखि केन्द्रीय समितिको बैठक बस्नेछ ।