क्रान्तिकारी छविका कारण विश्वभरि चर्चा पाएका चे ग्वेभारालाई मार्न गोली हान्ने बोलिभियाका सैनिकको मृत्यु भएको छ।
मारिनो तेरान नामक ती सैनिकले सन् १९६७ को अक्टोबर ९ मा ग्वेभारालाई गोली हानेका थिए। तेरान ८० वर्षका थिए। लामो समयदेखि बिरामी रहेका तेरानको बिहीबार मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ।
अर्जेन्टिनाका फिजिसियन ग्वेभारालाई बोलिभियाका सैनिकहरूले एउटा गाउँमा पक्राउ गरेका थिए। पक्राउपछि उनलाई मारिएको थियो।
घाइते ग्वेभारालाई गोली हान्ने जिम्मा त्यतिबेलाका सैनिक तेरानलाई दिइएको थियो। ग्वेभारा त्यतिबेला ३९ वर्षका थिए।
‘त्यो मेरो जीवनको नराम्रो क्षण थियो,’ तेरानले पछि संवाददाताहरूसँग भनेका थिए,‘मैले चेलाई विशाल, धेरै विशाल देखें। उनका आँखा निकै चम्किएका थिए। उनी मेरो छेउमा आएको महशुस गरें। जब उनले मलाई नियाले म तिरमिराएँ।’
उनले आफूलाई शान्त रहन भनेको पनि तेरानले बताएका थिए।
‘चेले मलाई ‘शान्त हुन प्रयास गर र राम्ररी निशाना लगाऊ,तिमीले एउटा मान्छे मार्दैछौ’ भने त्यसपछि मैले एक कदम पछि हटेर आँखा चिम्लेर गोली हानें,’ तेरानले भनेका थिए।
ग्वेभाराको शव अर्को दिन बोलिभियाको एउटा गाउँको नालीमा फेला परेको फोटो एएफपीका पत्रकारले खिचेका थिए।