२२ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनको चैत १९ गते हुने अधिवेशनमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले मोर्चाबन्दी गर्ने भएका छन् ।
नेपाली कांग्रेस निकट कानुन व्यवसायी अध्यक्ष र नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायी महासचिव रहने र नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीले उपाध्यक्ष पद पाउने गरी तीन दलले मोर्चावन्दीको निर्णय गरेका हुन् ।
बारको २५ सदस्यीय कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्षसहित १५ जना कांग्रेसले पाउने गरी सहमति भएको कांग्रेस निकट कानुन व्यवसायी एगराज पोखरेलले बताए ।
माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुन व्यवसायीले १० सिट भागवण्डा गर्ने सहमति भएको उनको दावी छ ।
पोखरेलका अनुसार अध्यक्षमा सुनील पोखरेल र गोपालकृष्ण घिमिरेमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ ।
अध्यक्ष पदका आकांक्षी घिमिरे नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक हुन् । महासचिवमा माओवादी केन्द्र निकट अधिवक्ता दीनमणि पोखरेलले उम्मेदवारी दिने सम्भावना छ । बार एशोसिएसनको देशभर ११ हजार जना भन्दा बढी सदस्य रहेका छन् ।