२१ फागुन, सुर्खेत । कालिकोटका एक युवक नेपालगंजबाट सुर्खेततिर आउँदै गर्दा बिचबाटोमा प्रहरीसँग सामान्य विवाद हुँदा प्रहरीको कुटाईबाट मृत्यु भएपछि आक्रोशित आफन्तजन र प्रहरीबीच सुर्खेतमा झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीचको झडपले प्रदेश राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको हो ।
आक्रोशित प्रदर्शनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्याएका छन् । प्रहरीको कुटाइ खाएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय कृष्ण हमाल (मिनी) को शनिबार विहान सुर्खेत अस्पतालमा मृत्यु भएको थियो ।
हमालको मृत्यु प्रहरीको निर्घात कुटाइबाट भएको भन्दै स्थानीयले प्रहरीविरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेपछि वीरेन्द्रनगरको यरीचोक तनावग्रस्त बनेको छ ।
परिवार, आफन्तसहित प्रदर्शनकारीले प्रहरीको निर्घाट कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् । आन्दोलन हिंसात्मक बन्ने खतरा बढेको छ ।
बाँकेको नेपालगञ्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बरको ट्रकमा सुर्खेत आउँदै गर्दा हमाल, ट्रक चालक र सहचालकलाई सुब्बा कुना प्रहरी पोष्टले मादक पदार्थ सेवन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । तीमध्ये हमालको मृत्यु भएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
हमाललाई मादक पदार्थ सेवन गरेरनगरेको जाँच गर्न सुर्खेत अस्पतालमा लैजाँदा गर्दा मृत्यु भएको प्रहरीको दाबी छ । तर अस्पतालले भने घटनाबारे एक विज्ञप्ति जारी गर्दै मृत्यु भइसकेको अवस्थामा हमाललाई अस्पताल ल्याइएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले घटनाबारे अनुसन्धान भइरहेको जनाए ।