Breaking News

एमालेले यसरी ससद अवरुद्ध र यसरी नै चल्न नदिने अवस्था रह्यो भने मंसिर अगाडी नै संसद चुनाव हुनसक्छ

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेका कारण आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने बताएका छन् । एमालेले संसद अवरोध गरिरहने र संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने उनको भनाई छ । शनिबार काठमाडौंमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दै थापाले स्थानीय तहको निर्वाचन भने बैशाख ३० गते नै हुने उल्लेख गरे ।

महामन्त्री थापाले बैशाखमा स्थानीय तहको चुनावपछि आम चुनाव गराउने बताए । उनले भने– ‘आम चुनाव मंसिरमा हुन्छ वा त्यो भन्दा पहिला हुन्छ मलाई थाहा छैन् । संसद यसैगरी चल्दै गयो भने, संसद यसरी नै चल्न नदिने अवस्था रह्यो भने, संसदको उपहास गर्ने काम नेकपा एमालेले गरिरह्यो भने । हामीले छलफल गर्न आउनुस भनिरहेका छौँ, उहाँहरु आउनुभएन भने त्योबेला संसद किन चलाइरहने भन्ने प्रश्न उठ्नसक्छ । त्यो अवस्थामा अगाडि नै चुनाव हुनपनि सक्छ तर स्थानीय तहको चुनाव बैशाख ३० मै हुन्छ । चुनाव हामी गराउँछौँ र ५ सानदारसँग सरकार चलाएर देखाउँछौं ।’

उनले बैशाख ३० गते निर्वाचन गराउनै पर्ने, ऐन कानुनले चुनाव नगर्न एकदिन पनि छुट नदिएको बताए । बैशाख ३० गते काँग्रेसले निर्वाचन गराएरै छाड्ने उनको दावी छ । २०७४ सालपछि काँग्रेसले चुनाव हारेपनि नेकपाको सरकार बनेको र ५ वर्ष नेपाली नागरिकले स्थीरताको लाभ पाउनुपर्ने पक्षमा कांग्रेस रहँदापनि बाध्यताले सरकारमा रहेको बताए । उनले प्रतिपक्षमा बसेर भूमिका खेल्छौँ भनेपनि अहिले काँग्रेस सरकारमा रहेको बताए ।

उनले भने– ‘२०७९ सालमा कम्युनिष्ट पार्टीले नै निर्वाचन गर्नुपथ्र्यो । उनीहरुले आफ्नो घरमा आफैंले आगो लगाए । आगो लगाएर एकथरी देखाइदिन्छौं भन्दै खरानी धसेर निस्किए, अर्कोथरी मैले जिते भनेर खरानीको थुप्रोमै अट्टाहास गर्दै हासेर बसे । फेरि सरकारको जिम्मेवारी काँग्रेसकै काँधमा आयो । अरुलाई उचालिदिए पुग्छ, भत्काइदिए पुग्छ, हामीले सम्हानुपर्छ, बचाउनुपर्छ ।’

कम्युनिष्ट पार्टीका कारण जनताले स्थिर सरकार नपाएको उनले बताए । उनले महाधिवेशनछि पार्टीलाई विधिसंगत रुपमा अगाडि बढाइरहेको बताए । उनले भने– ‘पार्टीको अधिवेशनपछि हामीले पार्टीलाई शतप्रतिशत विधिसंगत तरिकाले चलाउने प्रयास गरिरहेका छौँ । पार्टीभित्र शतप्रतिशत एकता कायम गर्ने कोशिष गरिरहेका छौँ । पार्टीको अधिवेशनमा सामान्य प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धापछि पार्टी सञ्चालनको कुरालाई बिधिले डोर्याउनुपर्दछ भन्ने कुरामा एक ठाउँमा उभिएका छौँ । पार्टी सभापतिको हातलाई बलियो बनाउनुपर्छ । पार्टी सभापति संस्थाको प्रमुख भएकोले पार्टीलाई डोर्याउनुपर्छ । पार्टीभित्रको भागवण्डाको जुन काम हिजोदेखि चल्दै आयो त्यो बन्द गर्नुपर्छ भनेर एक ठाँउमा उभिएका छौँ ।’

उनले पार्टीको भातृसंस्था र शुभेच्छुकहरुको संगठनलाई क्रियाशील पनि बनाउने, एकरुपता ल्याउने, भातृ संगठनहरुलाई पनि अलि स्वतन्त्र ढंगले, स्वायत्त ढंगले सञ्चालन हुने वातावरण बनाउने, शुभेच्छुक संस्थाको सन्र्दभमा त पार्टीको सम्बन्धलाई एकदम पवित्र राख्नुपर्छ भन्ने कोणबाट अगाडि बढिरहेको बताए । उनले निजामती युनियनमा काँग्रेसको तर्फबाट कोही गुटबन्दी गर्न आउँछ भने त्यसलाई ढोका बन्द गरिदिन आग्रह गरे ।

रातोपाटीबाट

काँग्रेस महामन्त्री गगन थापा