म्याग्दी १७ फागुन । महाशिवरात्रि पर्व । देशैभरीका शिव शिवालयमा दर्शकको घुईचो लागेको थियो । हिजो शिवरात्रीको अवसरमा म्याग्दी जिल्लाको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा भक्तजनहरुको अत्यधिक घुइँचो लागेको थियो । प्रत्येक फागुन कृष्ण चतुर्दशी दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाउने चलन नेपाली कल्चरमा रहदै आएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू हिजो म्याग्दीको गलेश्वर शिवालयमा पूजा–आराधना गरेका छन्। विहानैदेखि म्याग्दी, पर्वत, बागलुङ, कास्की, मनाङ, मुस्ताङ लगायतका जिल्लाबाट आएका भक्तजनहरुलाई लाइनमा बसेर सहज रुपमा पूजा र दर्शन गर्ने प्रवन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्रविकास कोषले बतायो । कोषका अनुसार हिजो गलेश्वर शिवालयमा ३० देखि ४० हजार जति भक्तजनको आगमन भएर दर्शन र पुजाआजा गरेको अनुमान गरिएको छ ।
पूजा र दर्शनलाई सहज बनाउन विभिन्न उपसमिति संगै सुरक्षाकर्मी र स्वयमसेवक परिचालन भएर पूजाआजा र दर्शन गर्नेहरुलाई सहज बनाइएको थियो । गलेश्वरधाममा एक सय ८ शिवलिंग स्थापना र कालीगण्डकीको पानीलाई ल्याएर स्नान गर्ने सुविधा भएका कारणले पनि भक्तजनहरु उल्लेख्य मात्रामा आउने गर्दछन । किम्बदन्ती अनुसार कालीगण्डकी नदीको पानीमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरेमा मनोकाँक्षा पुरा हुने मान्यता रहँदै आएकाो छ ।
दिनमा शिवालयको दर्शन संगै शिवरात्रिको रातमा महावक्ति समेत बाल्ने भएकाले हिजो विहानदेखि आज विहानसम्म नै भक्तजनहरुको चहलपहल रहेको छ ।
पौराणिक कथाअनुसार सतिदेवीको गलापतन भएको मान्यता रहेको गलेश्वर शिवालयमा शिवरात्रि, बालाचर्तुर्शी, साउने सोमबार लगायतमा विशेष पूजा–आरधाना हुँदै आएको छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।
शिवरात्री पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।