१६ फागुन, विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ की १२ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी भएको छ । लेटाङ ८ का ६४ वर्षीय दीपक गिरीको घरमा आगजनी भएको हो ।
मृतक बालिकाको आफन्त र गाउँलेहरूले आरोपी गिरीको घरमा आगजनी गरेको वडाध्यक्ष भीमप्रसाद पोखरेलले बताए । आगजनीबाट गिरीको घर जलेर नष्ट भएको छ ।
बुधबार बेलुका स्कुलबाट घर फर्कने क्रममा बेपत्ता भएकी लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीय करुणा राईको शव शुक्रबार विहान विभत्स अवस्थामा फेला परेको थियो ।
बालिकाको हत्या आरोपमा प्रहरीले शुक्रबार गिरीलाई पक्राउ गरेको थियो ।