मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कार्यालयको अनौपचारिक बैठक बसिरहेको छ । परिमार्जनसहित एमसीसी पारित गर्न माओवादी नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जुटेका हुन् ।
स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी पारित गर्नका लागि गठबन्धन सहमति नजिक पुगेका छन् । परिमार्जनको ड्राफ्ट समेत तयार भइसकेको छ । त्यही ड्राफ्टका विषयमा छलफल गर्न माओवादी नेताहरू यति बेला छलफल गरिरहेका छन् ।
एमसीसी पारित गर्ने विषयमा माओवादीमा पनि दुई धार रहेको छ । एक पक्ष अहिलेकै अवस्थामा कुनै पनि हालतमा एमसीसी सम्झौतालाई पारित गर्न नसकिने अडानमा रहेको छ । अर्को पक्ष भने गठबन्धन जोगाउनका लागि एमसीसीको विषयमा लचक देखिएको छ ।
माओवादी बैठक लगत्तै गठबन्धनको बैठक बसेर परिमार्जनको मस्यौदालाई अन्तिम रूप दिने नेताहरूको तयारी छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा एमसीसीमाथिको छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभाको बैठकअघि नै गठबन्धनमा सहमति जुटाउने नेताहरूको तयारी रहेको बुझिएको छ ।