Breaking News

एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने

११ फागुन, चितवन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् ।

मन्त्री झाक्रीले अगाडी भनिन्, ‘कि त सरकार छोडेर सडकमा जानु पर्‍यो । कि सरकारमा बसेर सडकमा जानु भएन ।’ सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो ।

‘विरोधाभाष कुरा हुँदैन । पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।’ सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसीसी गलत भए आफूहरू ब्याक हुने बताइन् ।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताइन् । एमसीसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो । पार्टीको सचिवालयले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन् ।

तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद‍्मा एमसीसी टेबुल गर्न चाहेको भन्दै उनले अहिले नेकपा एमालेको मौनताले केही असहज बनाएको बताइन् ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्री