Breaking News

अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान नगरे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छोड्नुपर्छ

१० फागुन, चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज भरतपुर विमानस्थलमा पत्रकारसँगको भेटमा उनले, अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान नगरे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले सत्तारुढ दलले नै सरकारले संसदमा पेश गरेको एमसीसी सम्झौताको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य त्यही दिन सकिने बताए ।

सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने, अनि सरकारमा सँगसँगै बस्छु भन्नु अनैतिक हुने कांग्रेस महामन्त्री थापाको भनाइ छ । मतदानको बेला पेट दुख्यो भनेर घर बस्ने, तर अर्को दिन ठीक भयो गठबन्धनमा फर्किएँ भनेर बस्न नसकिने थापाको जिकिर छ ।

कम्युनिष्टको नेतृत्वमा बनेको र कम्युनिष्ट सहभागी भएको सरकारले विभिन्न समयमा एमसीसी सम्झौता अगाडि बढाउने काम गरेकाले अहिले विरोध गर्नुको औचित्य नभएको उनले बताए । कांग्रेस महामन्त्री थापाले भने, ‘कि भन्न सक्नुपर्‍यो त्यसबेला निर्णय गर्दा हामीले ठूलो अपराध गर्‍यौं, भूल गर्‍यौं ।’

कांग्रेस, महामन्त्री गगन थापा