१० फागुन, काठमाडौं । काठमाडौंको बलम्बुमा १४ वर्षीय किशोर मृत भेटिएका छन् ।
खोलामा उदयपुरको ताप्ली गाउँपालिका स्थानीय घर भएका अनिश राउतको शव भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुले बताएको छ ।
शव भेटिएलगत्तै महानगरीय प्रहरी परिसर, टेकु र अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थलमा पुगेको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा पुगेको थियो ।
मृतकका बुबा दिलकुमार राउतले बताएअनुसार अनिश सोमबार अपराह्न ४ बजे घरबाट निस्किएका थिए । ‘राति ९ बजेतिर श्रीमतीले फोन गरेकी थिइन्, कुरा पनि भएको थियो’ उनले अनलाइनखबरसँग भने, ‘बिहान ८ बजे प्रहरीले यस्तो खबर सुनायो ।’
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतकले लागुऔषध सेवन गरेको देखिएको छ । लागुऔषधको मात्रा धेरै देखिएको प्रहरी बताउँछ ।