सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा एमसीसीबारे चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । बैठक अहिले केही बेरमा बस्र्दछ ।
यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए । उनले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए ।
शनिबारको स्थायी कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दुई पटक विज्ञप्ति निकाल्नुपरेको थियो । खतिवडाले दुई पटक विज्ञप्ति निकाल्दा पनि स्पस्ट नभएको भन्दै पुन महासचिव डा. बेदुराम भुसालले अर्को विज्ञप्ति निकालेका थिए ।
खतिवडाले पहिला निकालेको विज्ञप्तिमा एमसीसी संशोधनबिना अगाडि बढाउन नसकिने पूर्ववत् अडान कायमै रहेको र थप निर्णय गर्नुपर्ने अधिकार सचिवालयलाई दिइएको उल्लेख गरेका थिए । लगत्तै अर्को वक्तव्यमा संसद अवरोध हटेर दलहरुबीच राजनीतिक सहमति जुटेमा एमसीसी पेश गर्न तयार भएको उल्लेख थियो ।
‘बैठकले एमसीसी कम्प्याक्टलाई जस्ताको तस्तै अनुमोदन गर्न नसकिने, तर सार्वभौम संसदमा सघन छलफल गर्न भने तयार हुने निर्णय गरेको छ’, भुसालको वक्तव्यमा भनिएको छ । तर, नेता खनाल एमसीसी संसदमा टेबल गर्न दिने कि नदिने भन्नै बैठकमा कुनै नै निर्णय नभएको दावी गर्दै आएका छन् ।