नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले यथास्थितिमा एमसिसी पारित हुन नसक्ने निष्कर्ष आजको बैठकले निकालेको बताएका छन्।
‘बैठकमा एकैस्वरले एमसिसी पारित हुँदैन भन्ने आवाज उठेको छ’, स्थायी कमिटी बैठकपछि उनले भने।
खनाल नेतृत्वमा बनेको कार्यदलले तयार पारेको रिपोर्ट आजको बैठकमा पेस भएको थियो। त्यसमा मोटामोटी छलफल भएको उनले बताए ।
थप यसबारे छलफल गर्न गठबन्धनको बैठक बस्न सकिने समेत उनले बताए।
यदि सरकारले जबरजस्ती एमसिसी अगाडि बढाउन खोज्यो भने उनले तीन तर्क अगाडि सारे।
‘एक त यो संसदमा पेस गर्नुपर्ने खालको सम्झौता होइन, अर्को पेस गर्ने हो भने पनि हाम्रो संविधानको प्रावधानले पेस गर्न दिँदैन यस्तै विपक्षीलाई विश्वासमा लिनुपर्यो। संसद खुलाउने वातावरण बनाउनु पर्यो। त्यसपछि मात्र टेबल हुन्छ’, उनले भने, ‘यदि प्रधानमन्त्रीले जबरजस्ती अगाडि बढाउन खोज्नुभयो भने पनि परिणामको जिम्मेवार उहाँ आफैं हुनुहुन्छ।’