Breaking News

संसदमा एमसीसीलाई जबरजस्त पारित गर्न खोजे बिपक्षमा मतदान : एकीकृत समाजवादी

५ फागुन, काठमाडौं । अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किए लगत्तै नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ । झण्डै पाँच घण्टा चलेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी, सत्ता गठबन्धन र आगामी चुनाव केन्द्रित छलफल गरेको छ ।

सचिवालय बैठकले निकालेको निष्कर्षलाई पर्सि शनिबार बस्ने स्थायी कमिटीबाट अन्तिम रूप दिने एकीकृत समाजवादीको तयारी छ । ‘हतार, हतपत र उत्ताउलो पारामा जाँदैनौं । स्थायी कमिटी बैठकबाट मुलुक, व्यवस्था र संविधान अनुकुल निर्णय गर्छौं’, उपमहासचिव गंगालाल तुलाधार भनेका छन् ।

सत्ता साझेदार नेपाली कांग्रेसले मंगलबार र माओवादी केन्द्रले बुधबार एमसीसीबारे निर्णय गरेपछि एकीकृत समाजवादी दबाबमा परेको थियो । ‘हामी गठबन्धन र एमसीसीबारे सचेत छौं । अध्ययन र छलफलबाट उपयुक्त निर्णय पनि लिन्छौं’, तुलाधर भन्छन् ।

विशेषगरी एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न नेताहरूको दबाब बढेपछि बुधबार निकै लामो बैठक चलेको थियो । बैठकले एमसीसी, गठबन्धन र आगामी चुनावबारे मोटामोटी निष्कर्ष समेत निकालेको एक नेता बताउँछन् ।

‘लगभग सबै बिषयमा हामी प्रष्ट भएका छौं । पार्टीको आधिकारिक फोरममा थप छलफल गरेर सार्वजनिक गर्छौं’, ती नेता भन्छन् ।

एकीकृत समाजवादीले कांग्रेस र माओवादी केन्द्रको निर्णय हतारमा गरिएको निष्कर्ष निकालेको छ ।

कांग्रेसले संसदीय दलको बैठकबाट एमसीसी सम्झौता संसद बैठकमा पेश गर्ने र अनुमोदन गराउने निर्णय गरेको छ भने माओवादी केन्द्रले संसदीय दलकै बैठकबाट विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । कांग्रेस र माओवादी केन्द्रको निर्णयले विपक्षी नेकपा एमालेलाई लाभ पुग्ने एकीकृत समाजवादीको निष्कर्ष छ ।

‘गठबन्धन टुटोस् र फेरि सरकारमा फर्कन पाइयोस् भन्ने केपी ओलीको चाहना छ । त्यसलाई बल पुग्ने गरी कदम चाल्न हुन्न भन्नेमा सबै नेताहरू सहमत छौं’, अर्का पदाधिकारी भन्छन् ।

कांग्रेस र माओवादी केन्द्रको निर्णयले गठबन्धनमा समस्या आउने भएकाले सघन छलफलमा जोड दिने बैठकको निष्कर्ष छ । त्यसका निम्ति अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालले अग्रसरता लिनुपर्नेमा एकीकृत समाजवादीका नेताहरु सहमत भएका छन् ।