काठमाडौँ । सभामुख अग्नि सापकोटाले आज बोलाएको सर्वदलीय बैठकमा नेताहरुबीच एमसीसी र संसद्को अवरोध खुलाउने विषयमा छलफल भएको छ । बैठकपछि पत्रकारहरुसँग बोल्ने क्रममा सभामुखले, एमसीसीका सम्बन्धमा आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको बताए ।
साथै उनले एमसीसी र अवरुद्ध संसद् खुलाउने विषयमा छलफल भएको बताए । दलहरुबीच सहमति भए आफूले एमसीसी अघि बढ्नबाट नरोक्ने भन्दै आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको प्रतिक्रिया दिए । ‘एमसीसीका सम्बन्धमा म अम्पायरमात्रै हो । दलहरू सहमत भए म रोक्दिन’, सभामुख सापकोटाले भने, ‘आजको बैठक विशेष भएको छ । संसद्को अवरोध हटाउने विषयमा नेताहरूले पहल गर्नुहुनेछ ।’
दलका नेताहरूले संसद्को अवरोध हटाउन प्रतिपक्षलाई पनि सहमतिमा ल्याउने विश्वास व्यक्त गर्दै अव संसद् सुचारु हुनेमा आफू विश्वस्त रहेको बताए । ‘राजनीतिक दलका नेताहरूले प्रतिपक्ष दललाई सहमतिमा ल्याउनु हुन्छ र शीर्ष नेताहरूले संसद् सुचारु गर्न लागि पहल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको समेत बताए ।
‘म ओपन माइन्ड छु । सबैका कुरा गम्भीरतापूर्वक सुनेको छु । सभामुखको हैसियतले निर्णय गर्नुपर्छ म त्यो गर्छु’ सभामुख सापकोटाले आफूले सभामुखको हैसियतमा जिम्मेवारी निर्वाह गर्ने दाबी समेत गरे ।
बैठक पछि नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले अवरुद्ध संसद् कसरी सुचारु गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको बताए । ‘नागरिकता विधेयकलगायत महत्त्वपूर्ण विधेयकहरू अड्किएका छन् विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल भएको छ उनले बताए ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू सहभागी रहेका थिए ।