काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक संसद भवनको ल्होत्से हलमा सुरु भएको छ । बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले अपनाउने रणनीतिका बारेमा औपचारिक निर्णय गर्ने संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । एमाले नेताहरूका अनुसार राणाविरुद्धको महाभियोग प्रस्तावका विरुद्ध एमालेले काउन्टर स्वरूप सभामुख अग्नि सापकोटाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारीमा छ ।
त्यसका लागि हस्ताक्षर अभियान नै सुरु गरेको एमालेले दलको बैठकमा औपचारिक निर्णय गरेर अघि बढ्ने योजना बनाएको छ । यसअघि आइतबार साँझ बसेको एमाले केन्द्रीय सचिवालय बैठकले महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो । एमालेमा सत्ता गठबन्धनले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग लगाएकाले संसद् विघटन बदर गर्ने अन्य चार न्यायाधीशलाई पनि महाभियोग लगाउनुपर्ने आवाज उठाउँदै आएका छन् । तर न्यायाधीशविरुद्धको महाभियोगबारे भने एमालेले सुझबुझपछि मात्रै निर्णय गर्ने बुझिएको छ ।