राप्रपा परित्याग गरेका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताउने तयारी गरेका छन् । पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका थापाले राप्रपा नेपाल नै ब्युँताउन लागेका हुन् ।
राप्रपा उच्च स्रोतका अनुसार पार्टीका लागि विभिन्न नामबारे छलफल हुँदा राप्रपा नेपाल नै ब्युँताउन उपयुक्त भएको धेरैको सुझाव आएको थियो । ‘नयाँ नाममा पार्टी दर्ता गर्नेभन्दा पनि हाम्रो पार्टी राप्रपा नेपाल नै हुने भयो,’ ती नेताले रातोपाटीलाई भने, ‘त्यो पार्टी पहिले नै दर्ता छ । निर्वाचन आयोग दर्ताकै लागि भनेर हामी जानुपर्ने अवस्था छैन ।’
तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि खाली भएको सो पार्टी लाक्पा तामाङको नाममा रहेको छ । यस विषयमा कमल थापाले तामाङसँग छलफल गरिसकेको र अब थापाकै नेतृत्वमा सो पार्टीलाई गति दिने समझदारी पनि भइसकेको ती नेताको भनाइ छ ।
गणतन्त्र स्थापनापछि तत्कालीन राप्रपा नेपाल हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेर राजनीतिमा उदाएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डाको बलमा सो पार्टीमा २४ सिट जितेको थियो भने पछि तत्कालीन राप्रपासँग एकता भएपछि नयाँ पार्टी ‘राप्रपा’ बनेको
थियो ।