Breaking News

एमसीसीबारे माधव नेपालका ७ सवाल : अध्ययन गरिरहेका छौं, अन्तिम निष्कर्षमा पुग्न बाँकी छ, आँखा चिम्लेर एमसीसीलाई समर्थन गर्न सकिंदैन

२८ माघ, वीरगञ्ज । वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउन दौडधुपमा लागेको बेला सत्ता गठबन्धनका नेता नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने अभिव्यक्ति दिएका हुन् ।

‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । त्यसैले एमसीसीमा क्लयरिफिकेसन चाहिन्छ, कतिपय कुरा मिलाउनुपर्ने छ । तर जनमत एमसीसीको विरुद्धमा छ । जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ । यो पनि एउटा ठूलो चुनौति छ ।

सम्झौता मिति पर सार्दा उत्तम हुने बताए । ‘सम्झौता मिति पर सारे राम्रो हुन्थ्यो, छलफल गर्न समय मिल्थ्यो । गहिरोसँग अध्ययन गर्न पाइन्थ्यो । भए नभएको प्रचार भइरहेको छ । कतिपय कुरालाई सुधार गर्न मौका मिल्छ, यसको अध्ययन गरिरहेका छौं । अन्तिम निष्कर्षमा पुग्न बाँकी छ । तर आँखा चिम्लेर एमसीसीलाई समर्थन गर्न सकिंदैन ।

अध्यक्ष  नेपालले उठाए ७ सवाल

एमसीसीको गुण र दोषको आधारमा, तथ्यको आधारमा निष्कर्षमा पुग्न चाहेको बताउँदै उनले एमसीसीबारे ७ प्रश्न वटा कुरामा स्पष्ट हुनुपर्ने बताए । उनले उठाएका सवाल यस्ता छन्–

  • पहिलो, यो इन्डोप्यासेफिक रणनीतिको अंग हो कि होइन ?
  • दोस्रो, यो अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत पर्छ कि पर्दैन ? सैन्य संलग्नता छ कि छैन ?
  • तेस्रो, ट्रान्समिसन लाइन तलको भूभाग वा सडक बनाउँदा नेपालको सार्वभौम अधिकार रहन्छ कि रहँदैन ।
  • चौथो, निर्माणको काममा चाहिने श्रमशक्तिमा योग्यता क्षमता अनुसार नेपाली प्रयोग गर्न पाइन्छ कि पाइँदैन ?
  • पाँचौ, त्यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चित हुन्छ कि हुँदैन ?
  • छैठौं, त्यसको अडिटिङ गर्ने हक नेपालको अडिटर जनरलले प्राप्त गर्छ कि गर्दैन ?
  • सातौं, एमसीसीसँग जोडिएको कानुनको बारेमा स्पष्ट धारणा आउनुपर्छ । आफूखुशी नयाँ–नयाँ कानुन बनाउँदै जाँदा नेपालको हितमा असर गर्छ भने त्यस्तो कुरालाई स्वीकार गर्न सक्छ कि सक्दैन ?

एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल