४ सय ७० स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउने

निर्वाचनको मिति तय भएसँगै ४ सय ७० स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउने भएका छन् । कुल ७ सय ५३ वटा स्थानीय तहमध्ये २ सय ८३ स्थानीय तहका जनप्रतिनिधिले मात्र पाँचवर्षे कार्यकाल पूरा गर्न
पाउनेछन् ।

२०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा भएकोमा यसपटक एकै चरणमा हुने भएको छ । यसले गर्दा २०७४ साल वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनको पहिलो चरणबाट निर्वाचित वागमती, गण्डकी र कर्णाली प्रदेशका ३४ जिल्लाका जनप्रतिनिधिले मात्र पाँचवर्षे कार्यकाल पूरा गर्न पाउनेछन्। २०७४ साल असार १४ गते दोस्रो चरणको निर्वाचन भएका प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तह र असोज २ मा तेस्रो चरणको निर्वाचन भएको मधेस प्रदेशका १ सय ३६ पालिका जनप्रतिनिधि ६ महिना अगावै पदमुक्त हुनेछन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ लाई टेकेर निर्वाचन आयोगले जेठ ५ गते जनप्रतिनिधिको पाँच वर्षको पदावधि सकिने निर्णय गरेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सो ऐन २०७३ को दफा ४ मा सरकारले दुई वा दुईभन्दा बढी चरणमा निर्वाचन गर्न सक्ने भए पनि पहिलो चरणको मितिलाई निर्वाचन सम्पन्न भएको मानिने भनेको छ । यसै तर्कको आधारमा आयोगको सिफारिसबमोजिम सरकारले जनप्रतिनिधिको पाँच वर्षको पदावधि सकिने पाँच दिन अगावै निर्वाचनको मिति घोषणा गरेको थियो ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।