Breaking News

प्रदेश नम्बर १ मा मन्त्रीमण्डल बिस्तार गरिदै : सात मन्त्रालय फुटाएर १३ मन्त्रालय

प्रदेश नम्बर १ मा आज मन्त्रीमण्डल बिस्तार गरिदै छ । मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।

सात मन्त्रालय रहेको प्रदेश १ मा अब मन्त्रालय नै १३ वटा बनाइएको छ। यी मन्त्रालयहरूमा सत्तारूढ दलहरूबाट आज मन्त्री नियुक्त गर्ने तयारी छ।

प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना मन्त्रिपरिषदमा रहनेछन्।

संघीय लोकतान्त्रिक मञ्चलाई यसअघि नै राज्यमन्त्री दिइएको थियो।

साथै यसअघि कांग्रेसले २ मन्त्री पाएकोमा आज ३ जना थप हुन लागेका छन्।

झापाका ओमप्रकाश सरावागी, ताप्लेजुङका प्रतापप्रकाश हाङगाम र मोरङका शेखरचन्द्र थापा मन्त्री हुने सम्भावना छ।

यस्तै नेकपा (एकीकृत समाजवादी) बाट खोटाङका राजन राई, इलामकी खिनुलङवा लिम्बु र मोरङका उपेन्द्रप्रसाद घिमिरे मन्त्री हुने तयारीमा छन्।

नेकपा माओवादी केन्द्रबाट यसअघ १ मन्त्री रहेकोमा आज २ जना थप गर्न लागिएको छ। खोटाङका रामकुमार राई र झापाका झलकबहादुर मगर मन्त्री हुन लागेका छन्।

जसपा र संघीय लोकतान्त्रिक मन्चबाट एकेक जना मन्त्री हुने गरी सत्तारूढ गठबन्धनले मन्त्रालय भागबन्डा गरेका थिए।

सात मन्त्रालय फुटाएर १३ बनाउने यसअघि नै मन्त्रिपरिषदबाट निर्णय भएको थियो।

प्रदेश १ मा १९ मन्त्रालयसम्म बनाउन पाइने संविधानको व्यवस्था रहेको सत्तारूढ गठबन्धनले दाबी गरिरहेका छन् भने नेकपा एमालेले भने मन्त्रालय फुटाउने निर्णयको विरोध गरेको छ।