Breaking News

प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ८ जनाको मृत्यु

२२ माघ, बुटवल । प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका छन् । ३९ वर्षीय बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का, २ वर्षीया नाम नखुलेकी महिला र ५० वर्षीय चालक बलबहादुर बुढामगरको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले बतायो।

दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा बेहुली २० वर्षीय रिमा जिसी, सोही ठाउँकी २५ वर्षीय साबित्रा जिसी, १७ वर्षीय नरेश खड्का, बेहुला २५ वर्षीय दानबहादुर खड्का र २१ वर्षीया हरि बुढामगर रहेका छन् ।

घाइतेमध्ये बेहुलाबाहेक सबैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग१ज ५० ९२ नम्बरको जिप शनिबार बिहान ३ बजे दुर्घटनामा भएको हो ।

जिप अनियन्त्रित भई सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।