Breaking News

यादगर क्षण झलझली फ्लसव्याक भैरहेको छ, अल विदा डियर राइजी !

०५६ सालमा गाँउबाट पत्रकारिता पढ्न रत्नराज्यलक्ष्मी क्याम्पसको रात्रि कक्षामा भर्ना हुन आँउदा होचो कदको रसिलो–फरासिलो एक मित्रसंग परिचय भयो । ओखलढुङ्गाबाट आएका उनी पनि पढाई खर्चका लागि दिँउसो ‘माइशप’ नामको ड्राइक्लिनर कम्पनीमा काम गर्ने रहेछन् । पछि पत्रकारिता पढ्दै मिडीयामा अवसरको खोजी गर्दै जाँदा हामी ‘साप्ताहिक आवाज’ नामको पत्रिकामा संगै जोडियौं । साइडमा केही व्यवसायिक काममा पनि अप्रत्यक्ष संलग्न रहेकाले उनले उक्त पत्रिकाको व्यवस्थापकीय कार्यमा समेत सहयोग पुर्याउने अर्थात केही समय कागज समेत किनिदिने गर्नुभयो । अलि पछि, उक्त पत्रिका बन्द नहुँदै मैले दामन पोष्ट र उहाँले खास खबर नामको साप्ताहिक पत्रिका दर्ता गरेर चलाउन थाल्यौं । अहिले ति दुबै पत्रिका निस्कन थालेको नै डेढ दशक अर्थात १५ वर्ष पुगेको छ । त्यतीबेला हामी धिम्ले प्रेसमा ति पत्रिका छापेर उनकै मोटरसाइकलमा सबेरै भुगोलपार्क ल्याउने गर्थ्योउ ।

समयको दौरानमा पत्रकार महासंघको चुनाव बेहोरियो। ‘धेरै पुराना मित्र भएकाले होला, उनले जित्दा म आफैंले र म आफैंले जित्दा उनैले जितेजस्तो अनुभुती’ साट्ने गथ्र्यौ । पछिल्लो पटक कोभिडको डरले त्यति भेटघाट हुन पाएको
थिएन । तैपनि ३ महिना अघि हुनुपर्छ, त्रिवी पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले गोदावारीमा पत्रकारिता पाठ्यक्रम परिमार्जन सम्वन्धी आवासीय गोष्ठी गर्दा ‘हामी त उतिबेला देखिको पुरानो साथी पो त, एकै ठाँउमा बसौं हैं राई सर’ भन्दै एउटै टेबुलमा बसेका थियौं । त्यसपछि करिव ४ दिनअघि हुनुपर्छ, एकपटक उनको फोन आएको थियो । ‘एकपटक भेटेर सल्लाह गरौं न’ भन्नुभयो । मैले ‘हुन्छ नी, दिँउसो तिर फोन गरेर रामशाहपथ स्थित स्वास्थ्य मन्त्रालयमा आउनु, अनि त्यही चिया खाएर गफ गरौं’ भनेको थिँए ।

तर ‘कमल राइजी, अब त्यो दिन कहिल्यै नआउने भयो, म एक पारिवारिक कामले आज म उपत्यका बाहिर थिँए । भर्खरै घर आइपुग्दा सामाजिक सञ्जालभरी तपाईं प्रति श्रद्धाञ्जलीका शव्द पोखिएको देख्छु । यतिबेला म निशव्द छु । भाव विभोर छु । केही लेख्न सकेको छैन । हात काँपरहेको छ । केवल २० वर्ष अघिदेखिका यादगर क्षण झलझली फ्लसव्याक भैरहेको छ । मेरो परम मित्रलाई आज दैवले चुँडेर लग्यो । अल विदा डियर राइजी । भावपुर्ण श्रद्धाञ्जली । परिवारमा गहिरो समवेदना ।

(लेखक : समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका भूतपूर्व अध्यक्ष हुनुहुन्छ ।)

लेखक : शन्तराम बिडारी