ग्यास बुलेटले च्याप्दा भारतीय नागरिक चालकको मृत्यु

काठमाडौंको बालाजुमा आज बिहान ग्यास बुलेटले च्याप्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बालाजु औद्योगिक क्षेत्रभित्र पार्किङ गरेर ग्यास बुलेटको सिसा पुछ्दै गरेका उनी अचानक गाडी गुडेर अगाडि रहेको भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा च्यापिएका थिए ।

बिहान पौने ४ बजे गम्भीर घाइते भएका उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जनाइएको छ । प्रहरीले अर्का ग्यास बुलेट चालकलाई नियन्त्रणमा लिएको छ ।