उपत्यकाकामा आजदेखि अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गरेका छन्।

शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य बाँकी सबै सेवा बन्द गरिएको तीनै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्ना कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै माघ ५ गतेदेखिनै अत्यावश्यक बाहेक सेवा बन्द गरेको छ।

‘सेवा प्रदायकको रूपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीसँग नियमित र प्रत्यक्ष सम्पर्कका कारण यस कार्यालयको नागरिकता, नागरिकता प्रतिलिपि, नावालक परिचयपत्र, राष्ट्रिय परिचय पत्र र राहदानी प्रदान गर्ने फाँट तर्फका कर्मचारीहरू कोभिड १९ बाट संक्रमित भई उपचारको क्रममा रहेकाले अर्को सूचना जारी नभएसम्म यी फाँटबाट हुने सबै सेवा स्थिगित गरिएको छ’, निमित्त प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

 

यसैबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख रूद्रादेवी शर्माले कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी पनि कोभिड–१९ बाट सङ्क्रमित भई उपचार र आइसोलेशनमा बस्नुपरेकाले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरेको जानकारी दिइन्।

जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्दै आएको शान्ति सुरक्षा, मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा अहिलेलाई स्थगन गरेका छौं’, प्रजिअ शर्माले भने, ‘कर्मचारी तथा सेवाग्राहीको नियमित र प्रत्यक्ष सम्पर्क हुने नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटका सेवा अर्को सूचना जारी नभएसम्म स्थगन गरेका छौं।’