सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

४ माघ, काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सुरु भएको छ ।

राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । बैठकमा यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनको रणनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता साझेदार दलहरूले गठबन्धन गरेका छन् ।

साथै निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि गरेको तयारी, प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा जनाउँदै आएको विरोध, कोरोना महामारीका विषयमा पनि बैठकमा छलफल हुने स्रोतको भनाइ छ ।

सरकार संचालनमा सहयोग गर्ने उद्देश्यले सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेका छन् ।

समितिमा सत्ता गठबन्धनका दलका शीर्ष नेताहरू छन् ।