प्रदेश २ को नाम “मधेश” नामाकरण राजधानी जनकपुरधाम राख्ने निर्णय : प्रदेश सभाबाट दुई तिहाइले पारित

३ माघ, जनकपुरधाम । नेपाल संघीयतामा गएको करिब ७ पुगेको छ । ७ प्रदेश सरकार मध्य प्रदेश २ को र प्रदेश १ को नामाकरण बाँकी
थियो । तर आज प्रदेश २ ले आफ्नो मधेश नामकरण गर्दै प्रदेश राजधानी जनकपुर राख्ने निर्णय पारित गरेको छ । आज बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको हो ।

आजै बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए ।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो ।

तर अरु दलका १६ सांसदले पनि प्रदेशको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्क्रिय भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए । कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए ।

आजै नै प्रदेश सभाले स्थायी राजधानी जनकपुर टुंगो लगाएको छ । पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।

प्रदेश २ को राजधानी तथा नामकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव गरेको थियो । पछि त्यसलाई परिमार्जन गरी तीन वटा बनाएको थियो, जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो ।

स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम हुनेछ ।