सुर्खेतको वीरेन्द्रनगरमा एकै परिवारका चार जना खाटमा सुतेको अवस्थामा मृत भेटिए

१ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिएका
छन् ।

मृत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पाका दाइ मानबहादुर बुढाका छोरा पाँच वर्षीय सोमराज बुढा रहेका छन्।

मृतक कल्पाका श्रीमान कृष्ण बुढा जाजरकोटमा मेडिकल चलाउँदै आएका छन् । वीरेन्द्रनगरमा ७७ वर्षीय ससुरा वीरबहादुर बुढासँगै कल्पा, दुई छोरा र भदै बस्दै आएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका चारैजना खाना खाएर एउटै कोठामा सुतेका थिए । ससुरा बिहानै पूजाआजाका लागि मन्दिर गएर चार बजे फर्किंदा कोही पनि उठेको नदेखेपछि शनिबार बेलुका ६ बजे प्रहरीलाई खबर गरेका थिए । उनीहरू कोठामा भित्रबाट चुक्कुल लगाएर खाटमा सुतेको अवस्थामा मृत भेटिएको डीएसपी घर्तीले बताए ।

कल्पनाका श्रीमान जाजरकोटबाट आउँदै गरेको र उनले आफू आइपुगेपछि अनुसन्धान अघि बढाउन भनेपछि अहिले प्रहरी टोलीले घटनास्थलको सुरक्षा दिइरहेको डीएसपी घर्तीले बताए ।

घटना के कसरी भयो त्यस बारेमा प्रहरीको अनुसन्धानपछि मात्र खुल्ने बताइएको छ ।