नेकपा एमाले बाग्लुङ जिल्ला अध्यक्षमा तत्कालीन माधव पक्षीय नेता हिरा केसी निर्वाचत

२६ पुस, बाग्लुङ । नेकपा एमालेको २४ गते बाट सुरु भएको बाग्लुङ जिल्ला कमिटीमा १० बुँदे पक्षधर तत्कालीन माधव पक्षीय नेता हिरा केसी अध्यक्षमा निर्वाचत भएका छन् ।

अस्ति शुक्रबार २४ गते शुरु भएको जिल्ला अधिवेशनमा सर्वसम्मतिबाटै नेतृत्व टुंगो नलागे पछि चुनावी प्रक्रिया शुरु भएको थियो ।

आज सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा दशबुँदे पक्षधर हिराबहादुर केसी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी कृष्ण पाठकलाई सयभन्दा बढी मतान्तरले पराजित गरेका छन् । । अध्यक्ष पदका लागि ३ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा विजयी भएका केसीले ३ सय २९ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी पाठकले २ सय २८ मत ल्याए भने अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले जम्मा ३४ मत मात्र पाए ।

एमालेको तत्कालीन माधवकुमार नेपाल समूह गण्डकी प्रदेशमा निकै कमजोर थियो । गण्डकीका ११ वटा जिल्लामध्ये बागलुङमा मात्रै इन्द्रलाल सापकोटाले नेतृत्व गरिरहेका थिए । प्रदेशसभामा पनि नेपाल समूहका सापकोटा मात्र थिए । २ भदौमा माधवकुमार नेपालले नयाँ पार्टी बनाउँदा सापकोटा भने पार्टी एकताका लागि भएको १० बुँदेको पक्षमा उभिए ।

केन्द्रीय सदस्य भएपछि सापकोटाले केही समयअघि पाठकलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।
उपाध्यक्ष र सचिवमा पनि दशबुँदे पक्षका नेताहरु क्रमशः लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल निर्विरोध चयन भएका छन् । यस्तै उपसचिवमा गणेशबहादुर थापा र डम्मर छन्त्याल विजयी भएका छन् ।