Breaking News

एमालेका ६३ जिल्ला अधिवेशन आज सम्पन्न १३ जिल्लामा सर्वसहमितबाट अध्यक्ष चयन बाँकीमा निर्वाचन हुने

२४ पुस, काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज ६३ जिल्लामा जिल्ला अधिवेशन गरेको छ । एक महिना अघि चितवनमा १० औं महाधिवेशन गरेको एमालेले ठिक एक महिनापछि पार्टीको जिल्ला अधिवेशन आज एकै पटक गरेको छ । आज सम्पन्न भएका ६३ जिल्ला अधिवेशन अन्तर्गत १३ जिल्लामा जिल्ला कमिटी अध्यक्ष सर्वसम्मत छानिएका छन् । यन्य जिल्लामा निर्वाचन हुने भएको छ । नेकपा एमाले प्रचार विभागले जनाए अनुसार सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरुमा झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया छन् । त्यसैगरी बाँके, धादिङ, अर्घाखाची, मोरङ,काभ्रे, भक्तपुर, गुल्मीमा पनि सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

सर्वसहमतिबाट चुनिएका झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ,बाँके किस्मतकुमार कक्षपति,धादिङमा भूमि त्रिपाठी र अर्घाखाँचीमा पीताम्बर भुसाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी मोरङमा ऋषिकेश पोखरेल,काभ्रेमा अशोक व्याञ्जु,भक्तपुरमा बचन देउजा र गुल्मीमा बालसिंह काउछा जिल्ला कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी मजदुर विशेषतर्फ जितेन्द्र श्रेष्ठ निर्वाचित भएको रिजालले जनाएका छन् ।