घरमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु १२ जना घाइते

२२ पुस, काठमाडौं । घरमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । झापाको चीनगर नगरपालिका(८ का ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको हो ।

हिजो राति मेचीनगर नगरपालिकाको पिपल चोकस्थित केशब पाठकको एक तले कच्ची घरमा लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगो निभाउने क्रममा ग्याँस सिलिण्डर पड्किंदा राजवंशी घाइते भएका थिए । उपचारका लागि एन्जल मेडिकल धुलाबारी पुर्‍याउनेवित्तिकै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइते हुनेहरूमा मेचीनगरकै लेखनाथ तिमल्सिना, दीपेन्द्र कार्की, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरी, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानीशंकर न्यौपाने, हरिबहादुर बिक, निर्मल शर्मा, ८ वर्षीया बालिका सुशीला अधिकारी र बिर्तामोडका गोविन्द्रप्रसाद राजवंशी घाइते भएका छन् ।

बालिका स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज भइसकेकी छन् भने अन्य घाइतेहरूको बीएनसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।