त्रिविमा अस्थायी र करारका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने योजनामा ब्रेक

त्रिभुवन विश्वविद्यालयका अस्थायी तथा करार शिक्षकहरूलाई स्थायी गर्ने प्रक्रिया अघि नबढ्ने भएको छ । मंगलबार एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियू र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिबीच भएको वार्तापछि अस्थायी र करारका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने योजनामा ब्रेक लागेको हो ।

सो सहमतिसँगै अनेरास्ववियूले विश्वविद्यालयका विभिन्न शाखामा गरेको तालाबन्दी खोलेको छ । त्रिवि वार्ता टोलीका सदस्यसँग ५ बुँदे सहमति गर्दै तालाबन्दी सहितको आन्दोलनको कार्यक्रम फिर्ता लिइएको अनेरास्ववियूका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले बताए ।

त्रिविको तर्फबाट वार्ता समिति संयोजक प्राध्यापक पशुपति अधिकारी सहितको ५ सदस्य र अनेरास्ववियूको तर्फबाट आर सी लामिछाने सहितको ५ सदस्यबीच मंगलबार वार्ता भएको हो ।

गत मङ्सिर १४ गते विश्वविद्यालयका अस्थायी तथा करार सेवामा काम गरिरहेका शिक्षकहरूले मात्रै उपप्राध्यापकमा प्रतिस्पर्धा हुने गरी त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को परिच्छेद २ को नियम ६ संशोधन गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा समेत मुद्दा परेकोले तत्कालका लागि सो विषय स्थगित गर्ने सहमति भएको हो ।

यस्तै दोस्रो बुँदामा त्रिवि सेवा आयोगबाट २०७८ साउन १८ गते स्थगित गरिएको उपप्राध्यापक पदको विज्ञापनको कार्यतालिका यथाशीघ्र प्रकाशन गर्न सेवा आयोगलाई अनुरोध गर्ने निर्णय भएको छ ।

यस्तै विश्वविद्यालयमा बिसौँ वर्षदेखि नयाँ विषयहरू अध्ययन अध्यापन भइरहेकोले त्यस्ता विषयअनुसार दरबन्दी थप गर्ने, रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने र प्रत्येक छ÷छ महिनामा शिक्षक, कर्मचारीको खुल्ला विज्ञापन गर्ने प्रक्रिया तत्काल अगाडि बढाउनेबारे सहमति भएको हो ।

साथै त्रिविको दर्ता अभिलेखमा रहेका विद्यार्थी संगठनको नेतृत्वसँग आवश्यक छलफल गरी निर्धारित समयमै सम्पन्न गर्ने गरी स्ववियू निर्वाचन प्रक्रिया अघि बढाउने पनि निर्णय भएको छ ।