१९ पुस, काठमाडौं । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्त्य भएको छ । हिजो अध्यक्ष प्रचण्डल १११ खुला र १२५ समावेशी गरी २३५ जनाको केन्द्रीय सदस्यको नाम सुनाउँदै सकिएको छ । तर पदाधिकारी भने आजको केन्द्रीय कमिटीको बैठकबाट चयनको तयारी गरेको छ ।
अपराह्न तीन बजे नवनिर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बसेर पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ ।
नवनिर्वाचित केन्द्रीय समितिलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा साँघुरो भएपछि सानेपा हाइटस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको छ ।
आज बस्ने निर्वाचित केन्द्रीय समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत पदाधिकारी चयन गर्ने छ ।
माओवादीको विधान अनुुसार केन्द्रीय समिति २९९ सदस्यीय छ । तर महाधिवेशनले खुलातर्फ १११ र समानुपातिक १२५ जना केन्द्रीय सदस्यहरुको नाम मात्र सर्वसम्मतिले पास गरेको छ ।
बाँकी ६३ जना र विधानले थप गर्न मिल्ने १५ प्रतिशत केन्द्रीय सदस्य चयन गर्नै बाँकी छ ।