१८ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ ।
विराटनरगबाट काठमाडौं आएकी सिनामंगल बस्ने विराटनगर महानगरपालिका(४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई हिजो दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सौर्य एयरलाइन्सको जहाजमा विराटनगरबाट काठमाडौं आउँदा एयरलाइन्सका स्टेसन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरणबाट खटिएको प्रहरीले उक्त झोला जाँच गर्ने क्रममा पोखरेललाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी सौर्य एयरलाइन्समा एसिसटेन्टको रुपमा कार्यरत कर्मचारीसमेत हुन् । बरामद नगदसहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।