१७ पुस, बुटवल । नेकपा एमाले पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
नेता रायमाझीले आज तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचारणविपरीत अधिनायकवादी सोंचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए ।
विगतदेखि नै पार्टीमा चरम विकृति र बिसंगति बढेको र त्यसलाई सच्याउन प्रयास गरेपनि असफल भएको रायमाझीले उल्लेख गरे । रायमाझीले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारिपूर्वक निभाउने बताएका छन् ।
पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहेका रायमाझी तत्कालीन नेकपामा विवाद हुंदा माधव नेपाल–प्रचण्ड पक्षमा थिए । तर एमाले विभाजनपछि भने उनी एमालेमै रहेका थिए ।
उनी एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य थिए । उनीसंगै एमाले जिल्ला कमिटी सदस्यहरु धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, महेश बराल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।