ललिता निवास जग्गा हिनामिना प्रकरण : सुवेदी दम्पतीको बयानबाट नयाँ तथ्य खुल्दै

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा जोडिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीसँगको बयानबाट नयाँ तथ्य प्राप्त गरेको छ । निजहरूको बयानसँगै नयाँ तथ्य खुल्दै गर्दा मुख्य योजनाकार भनिएका शोभाकान्त ढकालसँग पनि फेरि बयान लिन सुरु गरिएको छ । सीआईबीले सुवेदी दम्पतीलाई गत मङ्गलबार राति काठमाडौँको ताहाचलस्थित निवासबाट श्रीमती र कमलादीबाट श्रीमान्लाई पक्राउ गरेको थियो ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट दोस्रो पटक आइतबार पुनः पाँच दिनको म्याद थपिएको छ । सीआईबीले सुवेदी दम्पतीसँगको बयानपछि सोही प्रकरणका मुख्य योजनाकार शोभाकान्त ढकालसँग समेत बयान लिन थालेको हो ।

शोभाकान्त ढकाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन् । सीआईबीका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले सुवेदी दम्पती र शोभाकान्त ढकालको बयानसँगै थप अभियुक्तको संलग्नता खुल्दै गएको बताए । निर्देशक सिंहले भने, “ललिता निवास जग्गा हिनामिनामा जोडिएका अन्य आरोपीबारे नयाँ तथ्यहरू खुल्दै गएका छन् ।” उनले त्यसै आधारमा सरकारी जग्गा हिनामिनामा जोडिएका अन्य व्यक्तिको खोजी थालिएकोसमेत जानकारी दिए ।

उनीहरूको बयानपछि अन्य आरोपीमाथि सीआईबीले निगरानी बढाएको छ । तिनीहरूका नाममा पक्राउ पुर्जी जारी भइसकेको भए पनि ती व्यक्ति को हुन् भन्नेबारे भने खुलाइएको छैन । सीआईबीको पछिल्लो अनुसन्धानअनुसार ललिता निवासको २९९ रोपनी जग्गामध्ये १४६ रोपनी जग्गा किर्ते गरी व्यक्तिको नाममा नामसारी गरेको खुलेको छ ।

सीआईबीसँगको बयानमा सुवेदी दम्पतीले आफ्नो परिवारको नाममा रहेको जग्गा विभिन्न मोहीसँग किनेको दाबी गरेका छन् । सुवेदी परिवारको नाममा रहेको ललिता निवासको २३ रोपनी जग्गा श्रीमती माधवी सुवेदी, उनका चार छोरी र दुई छोरा गरी सात जनाको नाममा रहेको खुलेको छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।