नेकपा माओवादी केन्द्र को राष्ट्रिय सम्मेलन ८औं महाधिवेशनमा रुपान्तरण हुदैं आजदेखि काठमाडौंमा सुरु

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र को राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलन काठमाण्डौंको कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो १ बजे उद्घाटन हुन छ ।

सम्मेलनलाई माओवादीले ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिसकेको छ । हिजो शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई आज बिहान ८ बजे बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ ।

सम्मेलनमा १६०० बढीको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् । १४८३ नियमित प्रक्रियाबाट छानिएका र १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन् ।

आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

सम्मेलनबाट १५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय नयाँ नेतृत्व पनि चयन हुनेछ ।