Breaking News

‘चोर आयो, चोर आयो’ भन्दै कराउने व्यक्ति आफै बिजुलीको पोलमा छुटिएर आत्महत्या

९ पुस, काठमाडौं । आज बिहान ५ बजेतिर कपनमा ‘चोर आयो, चोर आयो’ भन्दै एक व्यक्ति कराएपछि छिमेकमा हुनेहरु दौडिएर बाटोतिर निस्किए । कराउने व्यक्ति आफैं एक घर अगाडि बसिरहेका थिए ।

मान्छे जम्मा हुन थालेपछि उनी आफैंले ‘म चोर होइन’ भन्दै सामुन्नेमा रहेको पक्की घरबाट माथि उक्लिए । ‘बरण्डामा पुग्ने वित्तिकै उनले आफूलाई बिजुलीको कालो तारमा पासो लगाए’ महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी डुण्डिराज न्यौपाने भन्छन्, ‘त्यो देखेर केही मानिसहरु उनलाई तान्न पनि गएका रहेछन्, तर उनको मृत्यु भइसकेको थियो ।’

चोर आयो भन्दै कराउने व्यक्ति आफैं झुण्डिन गएपछि केही स्थानीयले मोबाइलमा भिडियो पनि बनाएका थिए । भिडियोमा उनी मानिसहरु जम्मा हुने वित्तिकै तारमा झुण्डिएको देखिन्छ । डीएसपी न्यौपाने भन्छन्, ‘भिडियोमा पनि उनी आफैं गएर झुण्डिएको देखिन्छ, कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रहरी प्रभाग, कपनका एक प्रहरीका अनुसार उनले नियमित मादक पदार्थ सेवन गर्ने गरेको पनि देखिएको छ । ‘मादक पदार्थको लत नै लागेको जस्तो देखिन्छ, तर पछिल्लो केही दिनदेखि उनले नखाएको भन्ने खुलेको छ,’ उनले भने, ‘बिहीबार पनि उनी राति उठेर बरबराएका थिए, आज मृत भेटिए ।’