Breaking News

प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ (जसपा), माओवादी केन्द्र र (लोसपा) को प्रस्ताव

८ पुस, जनकपुरधाम । देश संघीयतामा गएपछि अहिले मुलुकमा ७ वटा प्रदेश छन् । त्यसमा ५ वटा प्रदेशले प्रदेशको नामाकरण गरिसकेका छन् भने बाँकी २ प्रदेशको नाम नामाकरा गर्न बाँकस् छ । त्यसअन्तर्गत प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रस्ताव गरेका छन् ।

आजको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् । विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले पनि मधेस नाममै समर्थन जनाइन् ।

प्रदेशसभामा धारणा राख्दै जसपा सांसद यादवले यहाँका जनताको पहिचान मधेस नै भएकाले प्रदेशको नाम मधेस राख्नुपर्ने बताए । आन्तरिक मामिला तथा सञ्चार मन्त्री समेत रहेका माओवादीका सांसद साहले मधेस प्रदेश बनाउन सफल भए खस अहंकारले ग्रसितहरुका लागि सबक हुने बताए ।

नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी मधेस भन्दा त्रेतायुगदेखि रहँदै आएको संस्कृति र इतिहासलाई जगेर्ना गर्न प्रदेशको नाम मिथिला भोजपुरा राख्नुपर्ने बताए ।

आफूहरुको जस्तै संस्कृति पारी भारतमा भएपनि उनीहरु मधेसी नकहलिएको भन्दै उनले बलजफ्ती रुपमा मधेसको कोट लगाइदिन खोजिएको बताए । यद्यपि यसबारेमा बसेर छलफल गर्नुपर्ने र सबैको भावना समेटने गरी नाम छनौट गर्नुपर्ने उनले बताए ।

कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले प्रदेशको नाम मध्य मधेस राख्नुपर्ने बताए । पौराणिक, राजनीतिक, सामाजिक, भौगोलिक दृष्टिकोणलाई हेर्दै मध्य मधेस प्रदेश राख्नुपर्ने उनको भनाइ छ ।

‘मधेस आन्दोलन हुँदाखेरि समग्र मधेस एक प्रदेशको कुरा आउँथ्यो । मधेस आठ जिल्ला मात्रै होइन । मधेस २२ जिल्लामा समेटिएको हो’ उनले भने, ‘मेचीदेखि महाकालीसम्मको बीचमा अर्थात् मध्यमा भएकाले सबैको मान सम्मान हुने गरी मध्य मधेस राख्नुपर्छ ।’

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रमोदकुमार यादवले भने प्रदेशको नाम जानकी हुनुपर्ने बताए ।

प्रदेश सभाको बिहीबारको बैठकमा प्रदेशको स्थायी राजधानीको बिषयमा पनि छलफल भएको छ ।