Breaking News

शोभराजको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी

‘८ पुस, काठमाण्डौ । अपराधी चार्ल्स गुरुमुख शोभराजको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

आज न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बाटोको म्यादबाहेक तीन दिनभित्र कारण दिन आदेश दिएको हो।

शोभराजले बुधबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दा दिएका थिए। उनले आफूलाई उमेरका कारण कैदमुक्त गर्नु पर्ने माग गरेका थिए।

यसअघि शोभराजले अधिवक्ता शकुन्तला थापामार्फत् जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।

जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागु हुनु पर्ने शोभराजको जिकिर थियो।

सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई काठमाडौं र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेका थिए। अमेरिकी नागरिक कोन्नीजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए।

काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। जिल्ला अदालतले उनलाई गरको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो। सन २००३ देखि उनले केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका छन्।