Breaking News

दुबईका शासक र राजकुमारी हायाको महंगो डिभोर्सको कथा

बेलायतको लन्डनस्थित एक उच्च अदालतले मंगलबार दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतुम र उनकी पत्नी हाया बिन्त अल हुसेनको पारपाचुके मुद्दामा फैसला सुनाएको छ।

उक्त फैसलामा अदालतले दुबईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मकतुमले हायालाई ८८ अर्ब रुपैयाँ  (७३ करोड ४० लाख अमेरिकी डलर) दिनु पर्ने उल्लेख गरेको छ। कुनै पारपाचुके मुद्दामा बेलायती अदालते एक पक्षले अर्को पक्षलाई यति धेरै रकम दिन भनेको यो पहिलो पटक हो।

अलजजिरा टेलिभिजनका अनुसार यसअघि अर्बपति फार्खाद आख्मेदोभको डिभोर्स हुँदा बेलायती अदालतले उनकी श्रीमतीलाई ६० करोड डलर दिनु  पर्ने फैसला गरेको थियो। पछि उनीहरूले अदालतले तोकेको रकमको एक तिहाइमै मुद्दा मिलाएका थिए।

बेलायती अदालतका न्यायाधीशले हायाको व्यक्तिगत सुरक्षा, उनका सामानको सुरक्षा र उनीहरूका दुई सन्तान १४ वर्षकी छोरी र ९ वर्षका छोराको शिक्षाका लागि दुबईका शासकले यो रकम दिनु पर्ने फैसलामा उल्लेख गरेका छन्। छोराछोरीको शिक्षाका लागि वर्षेनी रकम दिनु पर्ने भएकाले त्यसको ग्यारेन्टीका लागि एचएसबिसी बैंकमा २९० मिलियन पाउन्ड राख्नुपर्ने पनि आदेशमा उल्लेख छ।

राजकुमारी हायाको जन्म सन् १९७४ मा जोर्डनको राजपरिवारमा भएको थियो। उनी तीन वर्षकी हुँदा हेलिकप्टर दुर्घटनामा परेर उनकी आमाको निधन भएको थियो। हायाको बाल्यकाल बेलायत बितेको थियो। उनले विद्यालय तहको शिक्षा बेलायतमै पूरा गरेकी थिइन् भने अक्सफोर्ड विश्वविद्यालयमा राजनीति, दर्शन र अर्थशास्त्रको पढेकी थिइन्।

राजकुमारी हायाको सन् २००४ मा मकतुमसँग विवाह भएको हो। त्यतिबेला उनी ३० वर्षकी थिइन् भने मकतुम ५५ वर्षका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले हाया मकतुमकी छैठौं श्रीमती भएको उल्लेख गरेका छन्। मुकतमकी अरू श्रीमतीबारे भने सार्वजनिक जानकारी छैन।

पारिवारिक कलहका कारण हाया सन् २०१९ मा भागेर बेलायत गएकी थिइन्। बेलायतमा शरण लिएपछि उनले आफ्ना पतिविरूद्ध अदालती प्रक्रिया थालेकी थिइन्।

मुकतमले आफू र आफ्ना वकिलहरूको मोबाइल ह्याक गरेको र धम्की दिने गरेको हायाले बताएकी थिइन्। ‘तिमी जहा गए पनि हामी त्यहीँ पुग्न सक्छौं’ भन्दै उनलाई धम्की आएको थियो। धम्कीपछि बेलायतमा उनको सुरक्षा बढाइएको थियो।

हायाको मोबाइल ह्याक गर्न मुकतमले इजरायलको पेगासस सफ्टवेयर प्रयोग गरेको अदालतले उल्लेख गरेको छ। फैसलामा न्यायाधीश मुरले राजकुमारी हायाको आगामी दिनमा सुरक्षा ग्यारेन्टी गर्न पनि आदेश दिएका छन्।

७२ वर्षीय मुकतम संसारका अर्बपति शासकहरूमध्ये पर्छन्। उनको सम्पत्ति  ४ अर्ब अमेरिकी डलर छ। संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खालिफा उनैले बनाउन लगाएका थिए। उनका दुबई होल्डिङलगायत कम्पनीहरू छन्।

मकतुमकी छोरी ३५ वर्षीय लतिफा अल मकतुमले सन २०१८मा  दुबईबाट भाग्न कोशिश गरेकी थिइन्। यसरी देश छोड्न प्रयास गर्ने उनी मुकतमकी दोस्रो सन्तान हुन्। ६ जना श्रीमतीबाट मुक्तमका  ३० छोराछोरी भएको बताइन्छ।

बाहिर जाने, घुम्ने, गाडी चलाउने, पढ्ने चाहनाले आफू विदेश जान लागेको लतिफाले बताएकी थिइन्। देशबाट भाग्न निकै गाह्रो भएकाले उनले आफ्ना मार्सल आर्ट्स प्रशिक्षकको सहारा लिएकी थिइन्। जनवरी २०१८मा उनीहरू दुबईबाट डुंगामा भागेका थिए। अमेरिकामा गएर राजनीतिक शरण माग्ने लतिफाको योजना थियो।

आठ दिनपछि उनीहरू चढेको डुंगा भारतको नजिक आएको थियो। त्यही बेला उनीहरूलाई कमाण्डोले पक्राउ गरेका थिए। पक्राउ परेपछि लतिफालाई विद्युतीय झड्का दिइएको थियो र  उनी बेहोस भएपछि निजी जहाजमा राखेर दुबई लगिएको थियो। उनलाई पक्रनमा भारत सरकारको के भूमिका थियो भन्नेबारे अहिलेसम्म नयाँदिल्लीले कुनै प्रतिक्रिया दिएको छैन।

एजेन्सी