प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता सर्वदलीय बैठक बोलाउने सहमति

२ पुस, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको छ । भेटमा सर्वदलीय बैठक बोलाउने भएको छन् ।

बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका हुन् । सोही छलफल अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको अर्को बैठक पुस ६ अघि नै आइतबार वा सोमबार बैठक बोलाउने तयारी गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

‘भेटका अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो’, देउवा–प्रचण्ड भेटपछि प्रचण्डको सचिवालयले भनेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भदौ तेस्रो सातादेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेले सभामुखको पक्षपातपूर्ण व्यवहारका कारण सदन अवरुद्ध गर्नुपरेको जनाउँदै आएको छ । यस्तै एमसीसी संसदमा पेश गर्ने सरकारको तयारी छ । तर सत्तारुढ गठबन्धनमै एमसीसी संसदमा पेश गर्ने या नगर्ने भन्नेमा एकमत छैन । खासगरी माओवादी केन्द्रले सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाएर मात्रै अघि बढ्नुपर्ने बताउँदै आएको छ । तर, प्रधानमन्त्री देउवालाई एमसीसी अघि बढाउन दवाव छ ।