Breaking News

काँग्रेस सभापतिका लागि दोस्रो चरणको चुनावको तयारी : देउवा र कोइराला आफु पक्ष तान्न दौडधुप

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि हिजो भएको पहिलो चरणको निर्वाचनको मतगणना सकिएको छ । पहिलो चरणको मतदानमा कसैले पनि ५१ प्रतिशत ल्याउन नसकेपछि अब दोस्रो चरणको निर्वाचन हुने तयारीमा छ । त्यसका लागि निर्वाचन आयोगले आफसी छलफलका साथै नेताहरुसँग पनि छलफल गरिरहेको छ । पहिलो चरणमा सभापतिका प्रतिस्पर्धा ५ जना मध्य तीन जना आउट भएका छन् । अब दोस्रो चरणमा निवर्तमान सभापति शेरबहादुर देउवा र अर्का उम्मेदवार डा. शेखर कोइरालाबीच चुनाव हुने भएको छ ।

पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत ल्याउन नसकेपछि कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान अघि नेताहरु छलफलमा व्यस्त छन् ।

पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका प्रकाशमान सिंहलाई आफ्नो पक्षतिर तान्न पहिलो शेरबहादुर देउवा र दोस्रोत स्थानका शेखर कोइरालाले प्रयास जारी राखेका छन् ।

आज बिहान देउवा निकट नेताहरुले प्रकाशमानसँग छलफल गरेर चाक्सीबारीबाट फर्किएका छन् । उनीहरुलगत्तै शेखर कोइरालाले पनि प्रकाशमानलाई भेटेका छन् । त्यस्तै चौथो स्थानका विमलेन्द्र निधिले पनि सिंहसँग कुराकानी गरिरहेका छन् ।

छलफलपछि प्रकाशमानले साथीहरुसँग सल्लाह गरेर निर्णय दिने बताएको उनी निकट स्रोतले बताएको छ ।

तेस्रो स्थानमा रहेका उनले ३७१ मात्र मत पाएका थिए । त्यस्तै चौथो स्थानमा रहेका विमलेन्द्र निधिले पनि २४९ मत पाए ।

अब दोस्रो चरणको निर्वाचनमा २२५८ मत ल्याएका देउवा र १७४९ मत पाएका शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । यो अवस्थामा देउवालाई सिंह वा निधिमध्ये एकको समर्थन भए पुग्छ । जबकी शेखरलाई दुबैको समर्थन चाहिन्छ ।